खेत खन्नेलाई बिउ उपहार, बाँझो राख्ने लाई कारवाही !

151

   ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाँझो जमिन जोतेर सामूहिक खेती सुरु गरिएको हो ।

रत्ननगर नगरपालिकाको वडा नम्बर १४ पिठुवामा विगत एक दशकदेखि बाँझो रहेको करिब ३० विगहा जमिन जोतेर खेती गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । जग्गा व्यवसायीले प्लटिङ गरेको, व्यक्तिको नाममा रहेको र लामो समयसम्म खेती नगरेको तथा सार्वजनिक जग्गामा खेती गर्न सुरु गरेको हो ।

 

सामूहिक खेतीका लागि विपन्न वर्गको समूह बनाएर जग्गा बाँडबाँड गरिएको छ । ५ देखि ७ सात जनाको समूह बनाएर निश्चित समयसम्मका लागि खती गर्न जग्गा प्रदान गरिएको छ । सामूहिक खेती गर्न सो वडाभित्रका करिब ३०० परिवार राजी भएका छन् । ५० वटा समूह बनाइएको छ । नगरपालिकाले बाँझो जग्गाका धनीहरुसँग खेती गर्नका लागि अनुमति लिएको छ । नगरपालिकाले बाँझो जमिन जोत्नको लागि तेल खर्च, मकै र बोडीको बीउ उपलब्ध गराएको छ ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा लगाउने योजनासहित सामुहिक खेती सुरु गरिएको बताउनुभयो । उहाँले नगरपालिकाभित्र रहेका अन्य बाँझो जग्गाको पहिचान गरी स्थानीयलाई खेती गर्न लगाउने बताउनुभयो ।

सो नगरपालिकाले बाँझो जग्गा राख्नेलाई जरिवाना गर्दै आएको छ । लकडाउनका कारण सिर्जित परिस्थितिका कारण वडाभित्रका सार्वजनिक र प्लटिङ गरिएको जग्गा जोतेर आर्थिक अवस्था कमजोर रहेका समुदायलाई खेती गर्न दिने नीति लिएको मेयर वनले बताउनुभयो ।

Comments
Loading...