पर्साबाट स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एकजना पक्राउ। माई टिभि नेपाल

97

MYTV

१६ असार, वीरगञ्ज | पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरीया नगरपालिकाको वडा नम्बर २ लमरिया निवासी २८ वर्षीय मनोज यादव रहेका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनी नेतृत्वको टोलीले उनलाई अलौ भन्सारबाट नियन्त्रणमा लिएको हो । ना १५ प ५८३८ नम्बरको मोटरसाइकलमा सवार उनको झोला चेकजाँच गर्ने क्रममा ९१ हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो ।

पोखरियादेखि आफन्त भेट्न आएका उनलाई धेरै अलमल नगर्नु भनेर जान सशस्त्र प्रहरीले अनुमति दिएको थियो । तर केहिबेरपछि झोला बोकेर फर्किएपछि चेकजाँच गर्दा उनको साथबाट ५/५ सयको १ सय ८२ थान भारु नाेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यादवले भने घरायसी कामका लागि भारतमा रहेका आफन्तसँग ऋण सापटी लिएको दाबी गरेका छन् । बरामद रकम र उनले प्रयोग गरेको मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिए ।

Comments
Loading...