युवा व्यवसायी रुपेश पाण्डे भन्छन्, ‘वीरगन्जले देश बनायो, आफू कहिल्यै बनेन्, राजनीतिमा लागेर वीरगन्ज म बनाउँछु’

609

कृष्णा प्रसाद कुशवाहा/जेष्ठ १५

वीरगञ्ज।व्यापार व्यवसायका लागि व्यावसायिक घरमा नै जन्मनुपर्छ भन्ने मान्यता हाम्रो समाजमा छ । तर यो मान्यतालाई गलत सावित गरिदिएका छन् व्यवसायी रुपेश पाण्डेले । रुपेश एउटा साधारण हाइस्कुल टिचरका छोरा हुन् । तर उनी यतिबेला भने नेपालको एक टप व्यवसायीमा समेत गनिन्छन् । पर्साको वीरगन्ज निवासी हाइस्कुल टिचर ब्रिजमोहन पाण्डे र उनकी श्रीमती लिलावती पाण्डेका छोरा रुपेशले २०५५ सालमा बुबाले ट्युसन फिस र कोठाभाडा तिर्न दिएको ५ हजार रुपैयाँले भारतबाट रेडिमेट कपडा नेपालमा ल्याएर बिक्री गर्दै व्यवसाय थालेका हुन् । 

डाक्टर बन्ने उद्देश्यले आईएस्सी सके पनि त्यसपछि अगाडि पढ्ने पैसा नभएका कारण बीए अध्ययन गरेका रुपेश अस्थायी शिक्षकको जागिर छोडेर बिजनेसमा होमिएका थिए । उनी बिजनेसमा मोडिनुको पनि बेग्लै कथा छ । ‘बुबाले पढाएको एक व्यवसायीले शिक्षण गरेर केही हुँदैन । बिजनेस गर भनेर हौस्याएपछि आफू जागिर छोडेर बिजनेसमा होमिएको उनले बताए । पारिवारिक होस वा व्यावसायिक जिन्दगीमा क्लियर भएर अगाडि बढ्नुपर्ने मान्यता राख्दै आएका व्यवसायी रुपेशसँग गरिएको कुराकानी ।


मुलुक लकडाउन भएको दुई महिनाभन्दा बढी समय भइसकेको छ । यस्तो अवस्थामा व्यापार व्यवसायको अवस्था कस्तो छ ?
अहिले व्यापार/व्यवसायको कुरा गर्ने समय होइन् । अहिले हाम्रो अवस्थासारै दयनिय अवस्थामा गुज्रिरहेको छ । कोरोनाको महामारी र संक्रमणका कारण धेरै व्यवसायी सडकमा आउने सम्भावना छ । बजार सुनसान छ । मान्छेहरु कोरोनाको संक्रमण हुन्छ कि भन्ने त्रासमा छन्, सरकारले घरबाहिर निस्कन दिएको छैन् । आपत्कालीन रुपमा अत्यावश्यक बाहेक अरु समयमा कसैलाई पनि घरबाहिर ननिस्कन र भीडभाड, मेला, महोत्सव तथा कार्यक्रमहरुमा सहभागी नहुन भनिसकेको अवस्थामा बजार ठप्प छ ।


सबै स्कुल कलेजहरु बन्द छन् । मान्छेहरु काठमाडौँ छाडेर आ–आफ्नो गाउँमा पुगेका छन् । अनि व्यवसाय कस्तो होला ? अहिले एक क्षेत्रको मात्र होइन, सबै क्षेत्रको व्यवसायको अवस्था चौपट छ ।
कोरोनाका कारण अर्थतन्त्रमा ४ खर्ब हाराहारी नोक्सान भइसकेको तथ्यांक सावर्जनिक भइसकेको छ । व्यापारीहरु सडकमा आइसकेका छन् । यस्तो अवस्थामा राज्यले के गर्नुपर्छ ?
कोरोना महामारीले देशको अर्थतन्त्र डामाडोल बनेको छ । आर्थिक क्रियाकलापहरु ठप्प छन् । बजारमा माग र आपूर्ति दुवै शून्य छ । उद्योगी/व्यवसायीको लागत बढेको बढ्यै छ ।
बैंकको ब्याज बढेको बढ्यै छ । उद्योगधन्दा कलकारखाना ६६ दिनदेखि बन्द छन् । केही खाद्यान्न उद्योग चले पनि अधिकांश उद्योग पूर्ण रुपमा बन्छ छन् । त्यहीबाट बुझिन्छ, देशको अर्थतन्त्र कस्तो अवस्थामा छ ? उद्योगी व्यापारीको हालत कस्तो छ ?
फेरी अर्को कुरा, केन्द्रीय तथ्यांक विभागले यस वर्षको आर्थिक वृद्धि २ दशमलव ७५ प्रतिशत मात्रै हुने आंकलन गरिसकेको छ । तर, लकडाउन अझै नखुले त्यति पनि नहुने बताइसकेको छ । हामी यसै पनि जोखिममा थियौँ । कोरोना भाइरसका कारण आर्थिक वृद्धि नराम्ररी खुम्चियो । धानको उत्पादन घटेको थियो, यसको असर आर्थिक वृद्धिमा ठूलो पर्छ ।

 

पर्यटनमा त सेटब्याक नै भइसक्यो । थोक र खुद्रा व्यापारमा अलिक हेर्नुपर्नेछ । निर्माण सामग्री र कच्चा पदार्थको आयातको पनि विश्लेषण गर्नु पर्छ । यो सबै क्षेत्र डामाडोल भए पछि अर्थतन्त्र खराब दिशातिर लाग्नु स्वभाविक हो । वित्तीय क्षेत्रमा चाहिँ मैले अहिलेसम्म ठूलो समस्या देखेको छैन ।

हुन त नेपालको मात्र नभएर यस पटक विश्वकै अर्थतन्त्र डाउन हुँदैछ । कोरोनाले अझै केही समय परसम्म प्रभाव पारिराखे अर्थतन्त्रमा भयाभहको अवस्था नआउला भन्न सकिन्न ।
कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्न सरकारको तर्फबाट ठ्याक्कै के गर्नुपर्छ जस्तो लाग्छ ?
मैले अघि पनि भने कोरोनाका कारण नेपालको अर्थतन्त्र नराम्रोसँग तल झर्ने देखिन्छ । यस्तो अवस्था रहे धेरैको जनजीवन प्रभावित हुनेछ । धेरैको रोजिरोटी गुम्नेछ भने मुलुकको अर्थ व्यवस्था, बजार कारोबार सबै डामाडोलको स्थितिमा पुग्न सक्छ । यस्तो अवस्थामा बजार शून्यतामा झर्न सक्छ । यस्तो अवस्था आउन नदिन सरकारले बेलैमा संयमितता अपनाउनु पर्छ ।
व्यवसायीहरुलाई राहतको प्याकेज दिनुुपर्छ । कोरोनाको आर्थिक असर न्यून गर्न व्यवसायीले छुट पाउनुपर्छ । कर र बैंङ्कको ब्याजमा सरकारले छुट र मिनाह गरिदिनुपर्छ ।


अब, तपाईको व्यवसायको पनि कुरा गरौ, अहिले कुन कुन अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल भित्र्याउनु भएको छ ?
सुरुमा मैले भारतबाट साडी, कुर्ता, लेहेङ्गा ल्याएर वीरगञ्जमा बेच्न थाले । कपडा बेच्ने काम गर्दा गर्दै काठमाडौं, पोखरा, धरान, हेटौंडा लगायतका ब्यापारीसँग राम्रो सम्पर्क भयो ।
कपडा बेच्ने काम पनि जारी राख्दै काठको काम गर्न थाले । जग्गा जमिनमा हात हालेँ । कपडा बेच्ने काममा अरु ब्यवसायमा भन्दा बढी दख्खल भएको महसुस गरेर अन्य काम छाडिदिएँ । पूरा समय कपडामा नै दिन थालेँ ।


काठमाडौंमा कपडाको माग धेरै भयो । त्यसपछि आफ्नै आउटलेट किन नखोल्ने भन्दै न्युरोडमा जय अम्बे शो रुम खोलेँ । जहाँ साडी, कुर्ता सुरुवाल, लेहेङगा लगायतका कपडा बेच्न थालँे । त्यसपछि चावहिल, शंखमुल लगायतका थानमा आउटलेट खोलेँ ।
अहिले काठमाडौंको साडी, कुर्ता र लेहेङ्गामा ६० प्रतिशत बजार मैले ल्याउने कपडा ओगटेको छु। मैले रिटेल भन्दा पनि होलसेल बजारलाई फोकस गरिरहेको छु ।
सुरुमा २०६४ सालमा युरोपियन ब्राण्ड सेलियो नेपालमा भित्र्याएँ । सेलियो ब्राण्ड पाण्डेले नेपाल मात्र भित्र्याउन आफै त्यस ब्राण्डका लागि एसियाको कन्ट्री म्यानेजरसमेत भएँ ।
सेलियो ब्राण्ड फ्रान्समा सबैभन्दा बढी चल्ने ब्राण्डमा पर्छ । यसका ज्याकेट, पाइन्ट, टिसर्टले ग्राहकको मन जितेको छ ।
त्यसपछि जुत्ता, चप्पल, ब्यागहरुको द मिलान इटालियन भन्ने ब्राण्ड नेपालमा
ल्याएँ । दरबारमार्गमा शो रुम खोलँे ।
महिलाहरुको लागि डब्लु ओरेलिया भन्ने ब्राण्ड पनि ल्याएँ । यस ब्राण्डका कपडा निकै हलुका, रंग नखुइलिने, कार्यालय प्रयोजनका लागिसमेत राम्रो भएका कारण महिलाहरुको एक नम्बर
रोजाइमा परेको पनि छ ।

३ वटा विदेशी ब्राण्ड भित्र्याएपछि बजारले झन अरु ब्राण्डहरु पनि भित्र्याउन अभिप्रेरित गरयो । त्यसपछि इन्डियन टेरियन भन्ने ब्राण्डको शोरुम लविम मलमा खोलेँ ।

सर्ट पाइन्टहरुको शो रुम इन्डियन टेरियनपछि लविम महलमा नै आदित्य विरला समूहसँग मिलेर लुइस फिलिप ब्राण्ड नेपालमा भित्र्याएँ । त्यसपछि उनले क्रमश डेल जिन्स, हाइप्रोफाइल सुटको कपडाका लागि जोस ए ब्याङक पनि नेपाली बजारमा ल्याएँ ।
अहिले ग्राहकहरु पैसा हेर्देनन् ब्राण्ड हेर्छन् । ब्राण्डेडका नाममा डुब्लिकेट सामान बेच्न गाह्रो छ, बेचिहाले पनि धेरै समय टिक्न सकिन्न । म टिकाउ हुने ब्यापार गर्छु, ब्राण्डेडका नाममा डुब्लिकेट भित्र्याउँदिन ।


ब्राण्डेड सामानका नाममा डुब्लिकेट सामानहरु भित्रिएपछि ब्राण्डेड सामानहरु बेच्नेहरुलाई निकै गाह्रो परेको समेत पर्छ ।
ब्राण्डेडका नाममा डुब्लिकेट भित्र्याएर नेपाललाई डम्पिङ साइट बनाउन खोजिएको छ ।
अहिले काठमाडौं उपत्यकामा २१ वटाभन्दा बढी ब्राण्डेड कपडा, जुत्ता, ब्यागहरुको शो रुम छ ।
बजारमा खरिद मूल्यको तुलनामा २० प्रतिशतभन्दा बढी नाफा राखेमा कालो बजारी गरेको मानिन्छ तर कुनै कुनै सामानमा तीन–चार सय प्रतिशतसम्म नाफा राखेर बिक्रीवितरण गरिएको देखिन्छ । किन यस्तो हुन्छ ?
बजार मूल्यको सन्दर्भमा सरकार तथा उपभोक्ताले केही कुरा बुझ्नुपर्ने देखिन्छ । सरकारले बिक्री मूल्य तोक्ने भनेको दैनिक उपभोगका अत्यावश्यक वस्तुमा हो । कुनै अवस्थामा मुखमा लगाउने मास्कसमेत त्यस्तो अत्यावश्यकीय वस्तु बन्न पुग्छ । त्यस्तो अवस्थामा सरकारले अत्यावश्यकीय भनेर तोकेका वस्तुमा नियन्त्रण गर्नु सही हो ।


साधारणतया, एउटा पसलमा महँगो भयो भनेर हिँड्दा अर्काे पसलमा त्यही सामान सस्तोमा किन्न पाउने अवस्था रहुन्जेल सरकारले मूल्य नियन्त्रण गर्नु जरुरी हुँदैन । बढी नाफा कमाउनेसँग बढी कर उठाउन भने सरकार सक्षम हुनैपर्छ । व्यापारमा सधैँ हुने प्रतिस्पर्धाका कारण बजार मूल्य आफै सामान्य अवस्थामा आउँछ ।
सरकारले ध्यान दिने विषय भनेको व्यापारीले कार्टेलिङ गरेर बढी मूल्यमा बेच्न नपाउन र कसैले बजारको प्रतिस्पर्धालाई समाप्त पार्न अन्डर कटिङ अथवा परल मूल्यभन्दा कममा बिक्री गर्न नपाउन भन्ने विषयमा सचेत रहनु पर्दछ । सरकारले बढी मूल्यमा बेच्नेसँग उसको खरिद मूल्यको आधारमा बढी कर असुल्ने होईन कि किन बढीमा बेचिस भनेर कारवाही गर्ने ।
समयअनुसार चामल, दाल, तेल, नुन, इन्धन, पुस्तक जस्ता अत्यन्त आवश्यकीय वस्तुमा भने सरकारले मूल्य तोक्नुपर्ने हुनसक्छ । हाम्रो समस्या चाहिँ के हो भने लक्जरी सामानमा समेत अत्यन्त आवश्यकीय वस्तुमा जस्तो नियम लगाउन चाहन्छौँ । कुनै पनि ब्रान्डले आफ्नो सामान उच्चस्तरीय बनाउने भनेकै अरूभन्दा बढी मूल्यमा बिक्री गर्न पाइयोस् भनेर हो । तर अर्काेले उसको जस्तै वस्तु सस्तोमा उत्पादन गर्छ भने उसको व्यापार आफै कम हुन्छ । यस्तो अवस्थामा सरकारले कति फाइदा लिन्छ भनेर हेर्ने होइन ।
मानौ, आज खरिद मूल्यको २० प्रतिशत मात्र नाफा राखेर कसैले बेच्यो । तर ६ महिनापछि उसको व्यापार राम्रो भएन । जस्तो अहिले कोभिड वा कोरोना भाइरसले गर्दा व्यापार, व्यवसाय कम भएको छ । यस्तो अवस्थामा सरकारले व्यापारीको घाटा परिपूर्ति गर्न त सक्दैन । त्यसैले व्यापारीले राम्रो अवस्थामा सकेको नाफा लिन्छ र बजार कमजोर भएको अवस्थामा पुरानो नाफाको पैसाले व्यवसाय धान्छ । यस विषयलाई यसरी नै बुझेको खण्डमा सबैलाई सजिलो हुन्छ र अन्तर्राष्ट्रिय व्यापारको नियम पनि यही हो ।
भविष्यमा तपाईको योजना के छ ?


म वीरगन्जमा सामान्य परिवारमा जन्मिएको मान्छे हुँ । म जे छु, आफ्नै मिहिनेतले यहाँसम्म आएको छु । अहिले मेरो आर्थिक अवस्था ठिकै छ । म मेरो व्यवसायलाई विस्तार गर्दै लैजाने छु । त्यसबाहेक म राजनीतिमा लागेर देश र जनताको सेवा गर्छु ।
राजनीति भनेको देशको मुल नीति हो । राजनीतिबाट मात्रै देश विकास सम्भव छ । विश्वका जति पनि मुलुक सम्पन्न भएका छन्, कुशल राजनीतिक नेतृत्वबाटै सम्भव भएको छ ।
मलेसिया हेर्नुस्, सिंगापुर हेर्नुस् । दुवै देश कुल नेताको हातमा परेकाले कहाँबाट कहाँ पुग्यो । म वीरगन्ज बासी हुँ । राजनीतिको माध्यमबाट म वीरगन्जमै सेवा गर्न चाहन्छु । वीरगन्जमा भएको गरिबी, अशिक्षा, बेरोजगारलाई निमूल पार्ने मसँग योजना छ । आज नेपालको ७० प्रतिशत माग धान्ने वीरगन्ज आफू कति सकसपूर्ण अवस्थामा बसेको छ । वीरगन्जले नेपाल बनायो, तर, आफू कहिल्यै बन्न सकेन । वीरगन्ज भनेको बाशमती हो, तर, आजसम्म उसले आफ्नो बास्ना थाहा पाएको छैन । राजनीतिमा लागेर, त्यही बास्ना सबैलाई बाड्छु ।

Comments
Loading...